झापा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निवर्तमान सभामुख देवराज घिमिरेको कडा आलोचना गरेका छन्।
झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार इन्दिरा रानामगरको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले घिमिरेलाई ‘संसदप्रति वितृष्णा फैलाउने पात्र’ को रूपमा चित्रण गरेका हुन्।
सभामुखको कार्यकालमा घिमिरेले जनताका जल्दाबल्दा मुद्दा उठाउँदा माइक काटिदिएको प्रसंग उल्लेख गर्दै लामिछानेले आक्रोश व्यक्त गरे।
उनले भने, “हामीले संसदमा भिजिट भिसामा हुने ठगीविरुद्ध आवाज उठायौँ, छानबिन समिति बनाउन माग गर्यौँ। तर सभामुखले जनताको आवाज बोल्दा हाम्रो माइक काटिदिनुभयो। आज उहाँ कुन मुख लिएर जनतासँग भोट माग्दै हुनुहुन्छ?”
लामिछानेले आफ्नो सांसद पद खारेज हुँदाको घटनालाई स्मरण गर्दै सभामुखले ‘बा’ (पार्टी नेतृत्व)को आदेश पालना गरेको आरोप लगाए।
उनले थपे, “उहाँलाई जनताको भन्दा ‘बा’ को आदेश ठूलो भयो। दुई घण्टाभित्रै सूचना टाँसेर मलाई संसदबाट गलहत्याइयो, तर मलाई जनताको मनबाट निकाल्न कसैले सक्दैन। यसको उचित जवाफ मतदाताले दिनुपर्छ।”
भाषणको क्रममा लामिछानेले विगतमा घिमिरेलाई सभामुख बनाउन आफूले हस्ताक्षर गरेको र समर्थनमा बोलेको प्रति पश्चात्तापसमेत प्रकट गरे।
“म यही धर्तीमा उभिएर खेद प्रकट गर्न चाहन्छु कि मैले कुनै दलको ‘रबर स्ट्याम्प’ लाई सभामुख बनाउन हस्ताक्षर गरेछु,” उनले भने।
उनले घिमिरेले दलको स्वार्थलाई सर्वोपरि ठानेर संसदीय गरिमामा आँच पुर्याएको दाबी गरे।
