झापा- झापा साइक्लिङ क्लबले आफ्नो स्थापनाको पहिलो कार्यक्रमको रूपमा ‘घुमौँ झापा साइकलमा’ अभियान आयोजना गर्ने भएको छ।
फागुन ३० देखि चैत २ गतेसम्म सञ्चालन हुने यो दुई रात तीन दिनको यात्रा दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरव अभिवृद्धि गर्ने उद्देश्यले तय गरिएको हो।
क्लबका अध्यक्ष आकाश श्रेष्ठका अनुसार, यस कार्यक्रमले झापाका विभिन्न १२ वटा स्थानीय तहलाई समेट्नेछ।
कार्यक्रमको पहिलो दिन ६० किलोमिटरको यात्रा तय गरिएको छ। काँकरभिट्टास्थित पर्यटन कार्यालयबाट सुरु हुने यो यात्रा बाहुनडाँगी, ४९ धारा, बर्ने चिया बगान, र अर्जुनधारा जलेश्वरधाम हुँदै दोमुखामा पुगेर टुङ्गिनेछ।
दोस्रो दिन सबैभन्दा लामो अर्थात् ८० किलोमिटरको दूरी पार गरिनेछ, जसमा माईधार, चिल्लागढ, हुलाकी मार्ग र नेपालकै होचो स्थान कचनकवल समेटिनेछ।
अन्तिम दिन बनियानीबाट किच्चकबध, भद्रपुर र हल्दिबारी हुँदै ५० किलोमिटरको यात्रा पूरा गरी बिर्तामोडमा कार्यक्रमको समापन गरिने क्लबका सचिव हिमाल खरेलले जानकारी दिए।
यस साहसिक यात्रामा कुल ५० जना साइकलयात्री सहभागी हुनेछन् भने उनीहरूको सहयोगका लागि २० जना गाइड, मेकानिक र स्वयंसेवकहरू परिचालन गरिनेछ।
कार्यक्रमलाई समावेशी बनाउन कम्तिमा २० प्रतिशत महिला र २० प्रतिशत झापा बाहिरका सहभागीहरूलाई समेट्ने लक्ष्य राखिएको छ।
पर्यटन कार्यालय काँकरभिट्टा मुख्य प्रवर्तक रहेको यस कार्यक्रमले साइकल चलाउने संस्कृतिलाई बढावा दिँदै आन्तरिक पर्यटनमा टेवा पुर्याउने विश्वास लिइएको छ।
यस अभियानको मुख्य उद्देश्य झापालाई ‘साइकल मैत्री’ पर्यटकीय गन्तव्यको रूपमा चिनाउनु रहेको छ। शून्य-फोहोर पर्यटनको अवधारणालाई आत्मसाथ गर्दै आयोजना हुन लागेको यो कार्यक्रमले स्थानीय होटल, होमस्टे र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्नेछ।
साथै, सीमा क्षेत्र, धार्मिक स्थल र सिमसार क्षेत्रहरूलाई जोड्दै झापाको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई उजागर गर्ने लक्ष्य राखिएको छ।
