काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई लक्षित गर्दै हरेक मतदान बुथमा कम्तिमा ३० जना स्वयंसेवक परिचालन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
सोमबार झापामा आयोजित कोशी प्रदेश स्तरीय भेलामा बोल्दै अध्यक्ष ओलीले मत सुरक्षाका लागि टोलटोलमा सुरक्षा समितिहरु गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सम्पूर्ण पार्टी पंक्तिलाई सचेत गराए।
उनले स्थानीय तहमा निर्माण गरिएका स्वयंसेवक फोर्सले पार्टीका निर्णय र निर्देशनअनुसार काम गर्ने भएकाले त्यसलाई व्यवस्थित ढंगले परिचालन गर्नुपर्ने स्पष्ट पारे।
ओलीले भने, “गाउँगाउँमा, टोलटोलमा सुरक्षा समितिहरु बनाउनुहोस्। राष्ट्रिय स्वयंसेवक फोर्स निर्माणमा सहयोग पुर्याउनुहोस्। स्थानीय पार्टीले हस्तक्षेप गरेर चलाउने होइन, तर स्वयंसेवक फोर्सले पार्टीका निर्णयसँग टकराव नगरी काम गर्नुपर्छ। चुनावका लागि हरेक बुथमा कम्तिमा ३० जना स्वयंसेवक तयार पार्नुहोस्।”
अध्यक्ष ओलीले देशको सुरक्षाका लागि राज्यका सुरक्षा निकायलाई सहयोग पुर्याउने उद्देश्यले पार्टीले स्वयंसेवक फोर्स निर्माण गर्नुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरे।
