झापा- आगामी निर्वाचनका लागि भापा–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाहले आफ्नो ‘वाचा पत्र’ सार्वजनिक गरेका छन्।
नेपालको संविधान–२०७२ को पूर्ण परिपालन र नागरिकमैत्री कानुन निर्माणलाई मुख्य एजेन्डा बनाउँदै शाहले संघीय संसदमा सक्रिय भूमिका निर्वाह गर्ने संकल्प गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचा पत्र २०८०’ लाई कार्यान्वयनको मुख्य आधार बनाउँदै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा केन्द्रित हुने योजना अघि सारेका छन्।
शाहले संघीयतालाई बलियो बनाउन केन्द्र र स्थानीय सरकारबीचको समन्वयमा विशेष जोड दिएका छन्। उनको वाचा पत्रमा स्थानीय निकायको सशक्तिकरण, योजनाहरूको प्रभावकारी अनुगमन र स्थानीय जनताका आवाजलाई निरन्तर संसदमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
विशेष गरी गरिब तथा विपन्न वर्गका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने र शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
सहरी क्षेत्रको मुख्य समस्याका रूपमा रहेका फोहोरमैला व्यवस्थापन, ट्राफिक जाम र पार्किङको समस्या समाधानका लागि स्पष्ट खाका प्रस्तुत गरिएको छ। साथै, कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादनको बजार व्यवस्थापन र किसानका लागि बीमा तथा अनुदानका कार्यक्रमहरू पनि उनको योजनामा समेटिएका छन्।
स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा “घर घर स्वास्थ्य सेवा कार्यक्रम” र अस्पतालहरूको सेवा सुधारलाई शाहले विशेष महत्व दिएका छन्। महिला हिंसा अन्त्य, सुशासनको प्रत्याभूति र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको विकास गर्ने उनको संकल्प रहेको छ।
“जनअपेक्षा अनुरूप काम गर्न आएको हुँ” भन्दै उनले नागरिकको मौलिक हकको रक्षाका लागि आफू सधैं तत्पर रहने विश्वास दिलाएका छन्।


