झापा- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता तथा पूर्व उपसभामुख इन्दिरा राना मगरले झापा क्षेत्र नं. २ का लागि आफ्नो १३ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन्।
“वैज्ञानिक शहर र योजनाबद्ध विकास” लाई मुख्य एजेन्डा बनाउँदै उनले बिर्तामोड, अर्जुनधारा, सुरुङ्गा र बुधबारेलाई समेटेर ‘वैज्ञानिक सिटी मास्टरप्लान’ कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकी छन्। उनको योजनामा यी शहरहरूमा स्मार्ट ट्राफिक व्यवस्थापन, साइकल लेन, फुटपाथ र हरित क्षेत्रको विस्तार गर्ने विषय प्राथमिकतामा रहेका छन्।
घोषणापत्रमा बिर्तामोडको बसपार्क समस्या समाधान गर्नेदेखि लिएर ट्राफिक जाम, अव्यवस्थित तार र ढल निकासको स्थायी समाधान खोज्ने उल्लेख छ।
स्थानीय हाटबजार र कृषि चोकलाई आधुनिकीकरण गर्ने र अलपत्र परेका विकास आयोजनाहरूलाई समयमै सम्पन्न गराउन पहल गर्ने उनको योजना छ। नीतिगत सुधारतर्फ उनले पारदर्शिता, जवाफदेहिता र स्थानीय संरचनामा ‘इ–गभर्नेन्स’ प्रणाली लागू गर्ने कुरामा जोड दिएकी छन्।
कृषिलाई व्यावसायिक बनाउन मगरले मल, बीउ र सिँचाइको पारदर्शी उपलब्धता, उत्पादनमा आधारित अनुदान र न्यूनतम समर्थन मूल्यको सुनिश्चितता गर्ने बताएकी छन्।
चिया र सुपारी कृषकलाई सिधै बजारसम्म जोड्ने र ‘एग्रो टुरिजम’को विकास गर्ने उहाँको लक्ष्य छ। युवाहरूका लागि ‘सीप मेला’ र स्टार्टअप सहयोग कोषमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरूको अनुभवलाई स्वदेशमै सदुपयोग गर्ने योजना अघि सारिएको छ।
शिक्षा क्षेत्रमा कक्षा ६ देखि आवासीय विद्यालयको अवधारणा र प्रविधिमैत्री शिक्षालाई उनले जोड दिएकी छन्। स्वास्थ्यतर्फ सरकारी अस्पतालमा ‘डी-एडिक्सन ओपीडी’, जेनेरिक औषधिको उपलब्धता र विपन्न वर्गका लागि विशेष स्वास्थ्य सुरक्षा कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरिएको छ।
विशेष गरी महिलाहरूको स्तन तथा पाठेघरको क्यान्सर रोकथामका लागि कानूनी व्यवस्था गर्ने र अटिजम भएका बालबालिकाका लागि विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उहाँको घोषणापत्रमा उल्लेख छ।
वातावरण संरक्षणका लागि नदी र वन क्षेत्रलाई ‘एन्टी डम्पिङ जोन’ घोषणा गर्ने, रिसाइक्लिङ प्लान्ट स्थापना गर्ने र हात्ती–मानव द्वन्द्व व्यवस्थापनका लागि ‘एलिफेन्ट मेनेजमेन्ट मास्टरप्लान’ कार्यान्वयन गर्ने उनको योजना छ।
