झापा- पूर्वराजा ज्ञानेन्द्र शाह करिब तीन महिनाको झापा बसाइ सकेर शुक्रबार काठमाडौं फर्किएका छन्।
झापाको दमक नगरपालिका–९ स्थित ‘मिनी दरबार’ (हिमालयन महालक्ष्मी टी–इस्टेट) मा बस्दै आएका शाहलाई लिन कैलाश एयरको हेलिकप्टर त्यहाँ पुगेको थियो। हेलिकप्टरमार्फत उनी काठमाडौं फर्किएका हुन्।
यसैबीच, पूर्वराजा शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न राजावादी समूहहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य प्रदर्शन र र्यालीसहितको तयारी गरेका थिए।
उनीहरूले विमानस्थलबाट र्यालीसहित पूर्वराजालाई महाराजगञ्जस्थित निर्मल निवाससम्म पुर्याउने योजना बनाएका थिए। तर, सोही कार्यक्रमलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा चुनौती र यात्रुको आवागमनलाई मध्यनजर गरी विमानस्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
प्रशासनले जारी गरेको आदेशअनुसार अबको एक महिनासम्म विमानस्थल र त्यसको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्न पाइने छैन।
राप्रपाका नेताहरू र अन्य समर्थकहरूले भव्य स्वागतको आह्वान गरिरहेकै बेला प्रशासनले निषेधाज्ञा जारी गरेपछि विमानस्थल क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।
