झापा– झापाको भद्रपुर नगरपालिकामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी एक जना पैदलयात्रीको मृत्यु भएको छ।
भद्रपुर नगरपालिका वडा नं. २ स्थित सगरमाथा चोकमा बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६४ वर्षीय कुल प्रसाद खरेलको ज्यान गएको हो।
प्रहरीका अनुसार आइतबार साँझ करिब ६:२० बजेको समयमा भएको उक्त दुर्घटनामा परी खरेल गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल पुर्याइएको भए पनि चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेका थिए।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा नं. ६ बस्ने २१ वर्षीय अनुराग घोष गम्भीर घाइते भएका छन्।
उनको अनुहारमा गहिरो चोट लागेको र प्रादेशिक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि पुनः ओमसाई पाथीभरा अस्पतालमै रेफर गरिएको छ।
मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय मन्दिप दंगालको अवस्था भने सामान्य रहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकललाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
