दमक — आगामी निर्वाचनको मुखमा झापा ५ मा नेपाली कांग्रेसलाई ठूलो राजनीतिक झड्का लागेको छ।
नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टीको जिम्मेवारी र क्रियाशील सदस्यतासमेत परित्याग गरेको घोषणा गरेका छन्।
आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमार्फत एक सार्वजनिक सन्देश जारी गर्दै प्रसाईंले माघ ६ गतेदेखि लागू हुने गरी कांग्रेससँगको सम्पूर्ण औपचारिक सम्बन्ध अन्त्य गरेको जानकारी दिएका हुन्।
उनले अबको आफ्नो राजनीतिक यात्रा कुनै पद, कुर्सी वा झण्डाका लागि नभई देशमा वास्तविक परिवर्तन ल्याउनका लागि केन्द्रित हुने स्पष्ट पारेका छन्।
प्रसाईंले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहको चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
शाहलाई विजयको अग्रिम शुभकामना दिँदै उनले भनेका छन्, “परिवर्तन सम्भव छ हाम्रै पालामा। मेरो तर्फबाट बालेन शाहलाई पूर्ण साथ र समर्थन रहनेछ।”
आफ्नो लामो सामाजिक तथा राजनीतिक यात्रामा साथ दिने नेपाली कांग्रेसका नेतृत्व, कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक र आम नागरिकप्रति उनले आभार प्रकट गरेका छन्।
झापा–५ मा ‘हेभीवेट’ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा कांग्रेसका नगर सभापतिले नै पार्टी छाडेर रास्वपाका उम्मेदवारलाई सघाउने घोषणा गरेपछि स्थानीय राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।
