झापा— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन कार्य सम्पन्न भएको छ।
निर्वाचन आयोगले तोकेको बिहान १० देखि साँझ ५ बजेसम्मको समयभित्र विभिन्न २१ वटा राजनीतिक दल र स्वतन्त्र गरी कुल ८१ जनाले प्रत्यक्षतर्फ आफ्नो मनोनयन दर्ता गराएका हुन्।
क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयमा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
यहाँ नेकपा एमालेका रामचन्द्र उप्रेती, नेपाली कांग्रेसका केशवराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी र राप्रपाका हेमराज कार्की मुख्य प्रतिस्पर्धामा देखिएका छन्।
त्यसैगरी, क्षेत्र नं. २ मा १८ जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट देवराज घिमिरे, नेपाली कांग्रेसकी सरिता प्रसाई, रास्वपाकी इन्दिरा राना मगर र राप्रपाका भद्रप्रसाद नेपालले मनोनयन दर्ता गराएका छन्।
क्षेत्र नं. ३ मा १७ जनाले उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका हरि राजवंशी र नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
क्षेत्र नं. ४ मा १६ जनाको उम्मेदवारी दर्ता भएको छ। जहाँ नेकपा एमालेका लालप्रसाद साँवा लिम्बू, नेपाली कांग्रेसका देउकुमार थेवे, राप्रपाका भक्तिप्रसाद सिटौला र रास्वपाका शम्भु प्रसाद ढकाल चुनावी मैदानमा छन्।
क्षेत्र नं. ५ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसकी मन्धरा चिमरिया र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह लगायतका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
यस क्षेत्रमा राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला र नेकपाबाट रञ्जित तामाङ प्रतिस्पर्धामा उत्रिएका छन्।
