झापा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘जेनजी’ आन्दोलनपछि पहिलो पटक आफ्नो गृहजिल्ला झापा आइपुगेका छन्।
सोमबार यती एयरलाइन्सको विमानमार्फत उनी झापा ओर्लिएका हुन्।
जेनजी आन्दोलनका क्रममा सरकारले उनीमाथि लगाएको स्थानहद (उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध) फुकुवा भएपछि यो उनको पहिलो जिल्ला भ्रमण हो।
लामो समय काठमाडौँ उपत्यकामा सीमित रहेका ओलीलाई सरकारले काठमाडौँ उपत्यका बाहिर जान रोक लगाएको थियो।
प्रतिबन्ध हटेसँगै चुनावी सरगर्मी बढेको बेला उनी झापा पुग्दा स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्।
उनी विमानस्थलबाट सिधै कार्यकर्ता भेटघाट र चुनावी तयारीका लागि दमकतर्फ प्रस्थान गरेका छन्।
अध्यक्ष ओली आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन र कार्यकर्ताहरूलाई चुनावी निर्देशन दिन झापा आएका हुन्।
नेकपा एमालेले उनलाई झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
आफ्नो निर्वाचन क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले चुनावी अभियानको औपचारिक सुरुवात गर्नेछन्।
