झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र नम्बर ५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
शनिबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तामाङलाई आफ्नै निवासमा बोलाएर उम्मेदवारीको टिकट हस्तान्तरण गरेका हुन्।
झापा–५ लाई यसपटक निकै चासोका साथ हेरिएको छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह पनि उम्मेदवार बन्ने चर्चा छ।
रास्वपाले शाहलाई आगामी चुनावपछिको प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको अवस्थामा नेकपाले युवा नेता तामाङलाई मैदानमा उतारेको हो।
टिकट पाएपछि नेता तामाङले आफूलाई पार्टी संयोजक दाहालले विश्वास गरेर जिम्मेवारी दिएको र चुनावी मैदानमा होमिन तयार रहेको बताएका छन्।
झापा–५ मा ओली र शाह जस्ता ‘हेभीवेट’ उम्मेदवारहरूबीच तामाङको उम्मेदवारीले चुनावी सरगर्मीलाई थप रोचक बनाउने देखिएको छ।
उम्मेदवार बनेका तामाङ विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन्। उनी अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष हुन् भने तत्कालीन माओवादी केन्द्रको झापा जिल्ला इन्चार्जको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
हाल नेकपाको केन्द्रीय समिति सदस्य रहेका तामाङलाई पार्टीले युवा र जुझारु नेतृत्वको रूपमा अघि सारेको हो।
