झापा- झापाको दमकमा ‘जेनजी’ आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थप एक थान हतियार प्रहरीले फेला पारेको छ।
शुक्रबार बिहान दमक नगरपालिका वडा नं. १ स्थित सुकुम्बासी बस्तीमा रहेको डेकबहादुर थापाको घरबाट उक्त हतियार बरामद गरिएको हो।
विशेष गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वमा खटिएको टोलीले थापाको घरमा छापा मारेको थियो।
जस्ताको बेरा र छानो भएको टहराभित्र खानतलासी गर्दा भुइँमा बालुवाले पुरेर लुकाइराखेको अवस्थामा सर्टगनको बटको भाग (नम्बर १३२०४४७) फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उक्त हतियार गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी कार्यालयबाटै लुटिएको पुष्टि भएको छ।
प्रहरीले बरामद भएको हतियारका पार्टपूर्जाहरू सुरक्षित रूपमा कार्यालयमा राखेको छ भने हतियार लुकाउने घरधनी डेकबहादुर थापा हाल फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
झापाका विभिन्न प्रहरी कार्यालयहरूबाट आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये अझै १५ थान हतियार फेला पर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाँकी हतियारको खोजी र संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
