काठमाडौँ- नेपाली कांग्रेस (देउवा समूह) का कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले कुनै पनि किसिमको दबाब वा प्रभावमा परेर निर्णय गरेमा आफ्नो पार्टी देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै सचेत गराएका हुन्।
खड्काले निर्वाचन आयोगले संविधान र प्रचलित विधि-विधानभन्दा बाहिर गएर निर्णय नगर्नेमा आफूहरू आशावादी रहेको भए पनि केही शंका उब्जिएको बताए।
लोकतन्त्रमाथि संकट आउन लागेको संकेत गर्दै उनले भने, “लोकतन्त्रमाथि मडारिएको कालो बादललाई साथ दिँदै दबाब र प्रभावमा निर्णय भयो भने कांग्रेस चुप लागेर बस्दैन, हामी आन्दोलनमा जान बाध्य हुनेछौँ।”
यसैगरी, खड्काले भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई अवैधानिकको संज्ञा दिएका छन्।
विशेष महाधिवेशन बोलाउने एकल अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको जिकिर गर्दै उनले केन्द्रीय समितिको निर्णयलाई उल्ट्याउने अधिकार महामन्त्रीसँग नभएको स्पष्ट पारे।
संस्थापन पक्षले महामन्त्रीका पछिल्ला कदमहरू विधानविपरीत रहेको दाबी समेत गरेको छ।
