झापा- आगामी निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले यस क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेसँगै चुनावी माहौल तातेको हो।
बालेनको उम्मेदवारी व्यवस्थापनका लागि नवीन भण्डारी र निश्चल बस्नेतसहितको टोली हिजो नै दमक आइपुगेको छ।
बालेन शाह आफैँ भने आगामी माघ ६ गते उम्मेदवारी दर्ताका लागि दमक आउने कार्यक्रम तय भएको छ। उनी र उनको टोली बस्नका लागि दमकमा तीनवटा घर भाडामा लिएको रास्वपाका नेताहरूले बताएका छन।
एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गढ मानिने झापा ५ मा यसपटकको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।
एमाले अध्यक्ष ओली पनि चुनावी कार्यक्रम र उम्मेदवारी दर्ताका लागि माघ ५ गते झापा आउने कार्यक्रम रहेको छ।
धेरैले यस निर्वाचनलाई ‘पुराना पाका नेता’ र ‘नयाँ पुस्ताको नेतृत्व’ बीचको लडाइँको रूपमा हेरेका छन्। लामो समयदेखि यस क्षेत्रबाट चुनाव जित्दै आएका ओली र पछिल्लो समय युवाहरूमाझ निकै लोकप्रिय बनेका बालेनबीचको यो भीडन्तले देशभरकै ध्यान झापा ५ तर्फ केन्द्रित गरेको छ।
