झापा– आगामी निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएको छ। नेपाली राजनीतिको ‘पावर सेन्टर’ मानिने झापामा योसँगै चुनावी सरगर्मी बढेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति भद्रपुर (क्षेत्र नं. ३) मा स्थापना गरिएको छ। यस्तै, क्षेत्र नं. १ को मेचीनगर, २ को अर्जुनधारा, ४ को कनकाई र ५ को दमकस्थित कृषि केन्द्रमा कार्यालय सञ्चालनमा आएका छन्।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश उमेशप्रसाद लुइटेलले भद्रपुरमा कार्यालय उद्घाटन गर्दै निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सबैको सहयोग मागे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइने प्रतिबद्धता जनाए।
पञ्चायती व्यवस्था विरुद्धको ‘झापा विद्रोह’ देखि देशका शीर्ष नेताहरूको कार्यक्षेत्र भएकाले झापाको निर्वाचनलाई राष्ट्रिय राजनीतिमा निकै महत्त्वका साथ हेरिन्छ।
