झापा- बिर्तामोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
बिहीबार साँझ ७:५० बजे बिर्तामोड–५ स्थित सिटी सेन्टर नजिकै पूर्व-पश्चिम लोकमार्गमा उक्त दुर्घटना भएको हो।
बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक-आपसमा ठोक्किएका थिए।
दुर्घटनालगत्तै मोटरसाइकलमा आगलागी भएको थियो, जसका कारण मोटरसाइकलको नम्बर खुल्न सकेको छैन। आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको छ। प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक हल्दिवारी–४ निवासी ३२ वर्षीय खगेन्द्र मगर र पछाडि सवार उनकी २५ वर्षीया श्रीमती सुकमाया तामाङ गम्भीर घाइते भएका थिए।
उनीहरूलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा खगेन्द्र मगरको राति ९ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ।
दुर्घटनापछि ट्रक चालक फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
