काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा जुटेका छन्।
यसै सन्दर्भमा, झापाको दमकमा बालेनको सचिवालयका लागि सम्पर्क कार्यालय स्थापना गर्न लागिएको छ, जुन भोलि शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने तयारी छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की स्थानीय नेतृ विन्दु सिटौला ‘लक्की’का अनुसार बालेनको सचिवालयका सदस्यहरू अहिले दमक आउने क्रममा छन्। सचिवालयका लागि आवश्यक घरको खोजी रास्वपाका जिल्ला नेताहरूले नै गरेका हुन्।
बालेनको आवास र कार्यालय प्रयोजनका लागि हाल तीनवटा घरहरू पहिचान गरिएको छ। यद्यपि, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएका घरका तस्बिरहरू भने आधिकारिक नभएको र वास्तविक कार्यालयको ठेगाना भोलि मात्र सार्वजनिक गरिने सिटौलाले जानकारी दिइन्।
चुनावी तयारीका लागि बालेन निकट केही इन्फ्लुएन्सरहरूले झापा–५ मा प्रारम्भिक सर्वेक्षण (सर्भे) समेत सुरु गरिसकेका छन्। यसअघि पनि उक्त क्षेत्रमा गोप्य रूपमा सर्वेक्षण गरिएको थियो।
प्रतिनिधि सभाको उम्मेदवार बन्ने निश्चित भएपछि बालेनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्।
झापा क्षेत्र नम्बर ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह क्षेत्र हो।
वि.सं. २०६४ सालको संविधानसभा निर्वाचन बाहेक यस क्षेत्रबाट ओलीले लगातार विजय प्राप्त गरेका छन्।
१ लाख ६३ हजार ३७९ मतदाता रहेको यस क्षेत्रमा ६१ वटा मतदान स्थल र १८५ वटा मतदान केन्द्रहरू रहेका छन्।
