झापा- झापाको बिर्तामोडस्थित एक डान्सबारबाट प्रहरीले अभय राजवंशीसहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
बिर्तामोड नगरपालिका वडा नं. १ मा रहेको ‘नाइटलाईफ डान्सबार’ बाट गएराति १०:३० बजे कनकाई नगरपालिका वडा नं. ९ का ४४ वर्षीय अभय राजवंशी, डान्सबारकी सञ्चालिका ४२ वर्षीया नविना राजवंशी र बिर्तामोड–१ का ४१ वर्षीय रमेश राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।
घटनाको पृष्ठभूमि अनुसार, गत पुस २९ गते राजवंशी समाज विकास समितिको नाममा डोमालाल राजवंशी रंगशालामा आयोजित ‘भाक्का दिवस’ कार्यक्रममा अभय राजवंशीले झापाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवराम गेलालविरुद्ध अपशब्द प्रयोग गरेका थिए।
सोही विषयमा सोधपुछका लागि जिल्ला प्रशासन कार्यालय झापाले हिजो दिउँसो ३ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो।
जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी वरिष्ठ नायव निरीक्षक देवराज निरौलाको नेतृत्वमा खटिएको टोलीले डान्सबारमा रहेका अभयलाई नियन्त्रणमा लिएको हो।
अभयलाई समात्ने क्रममा नविना राजवंशी र रमेश राजवंशीले प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेपछि उनीहरूलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनैजनालाई सुरुमा इलाका प्रहरी कार्यालय बिर्तामोड लगिएको थियो। त्यसपछि थप अनुसन्धानका लागि अभय र नविनालाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ भने रमेशलाई बिर्तामोडमै राखिएको छ।
यसैबीच, राति १२:३५ बजे नविना राजवंशीलाई भने आवश्यक परेको बखत उपस्थित हुने गरी उनका श्रीमान् भरत राजवंशीको जिम्मा लगाएर पठाइएको प्रहरीले जानकारी दिएको छ।
