झापा– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्नो राजनीतिक भविष्य र उम्मेदवारीबारे समयले नै निर्णय गर्ने बताएका छन्।
मंगलबार झापाको बिर्तामोडमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले सभामुखको पदमा रहुन्जेल कुनै दलमा आबद्ध नभई स्वतन्त्र ढंगले काम गरिरहेको स्पष्ट पारे।
सभामुख घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनेमा आफू आशावादी रहेको धारणा राख्दै संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको रूपमा व्याख्या गरे।
उनले भने, “भदौ २७ गते राति संसदलाई जबरजस्ती भंग गरिएको छ, जुन संविधानमाथि प्रहार गर्ने काम हो।”
उनका अनुसार मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट संवैधानिक निकास संसद पुनर्स्थापनामार्फत नै सम्भव छ।
अदालतबाट सकारात्मक फैसला आउनेमा आफू आशावादी रहेको उनले बताए। पत्रकारहरूको प्रश्नमा उनले थपे, “भोलि संसद पुनर्स्थापनाको सम्भावना पनि छ, त्यसैले अहिले कुन क्षेत्रमा उठ्ने भन्ने सोच गरेको छैन।”
सभामुखको पदमा रहुन्जेल कुनै राजनीतिक इच्छा राख्न नमिल्ने र तटस्थ भूमिका निर्वाह गरिरहेको उनले स्पष्ट पारे।
नेकपा (एमाले)बाट २०७९ को आम निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका घिमिरे एमालेको स्थायी कमिटी सदस्यसमेत रहिसकेका थिए। त्यसपछि उनी प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका हुन्।
