झापा- इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट फरार भएका एक थुनुवालाई प्रहरीले करिब चार महिनापछि पुनः नियन्त्रणमा लिएको छ।
लागु औषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका झापा दमक नगरपालिका वडा नं. १० निवासी २८ वर्षीय मनोज खनाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
खनाल गत २०८२ भदौ २४ गते देशभर भएको ‘जेन-जी आन्दोलन’ को क्रममा उत्पन्न असहज परिस्थितिको फाइदा उठाउँदै इप्रका दमकको हिरासत कक्षबाट भाग्न सफल भएका थिए।
आन्दोलनकारीले प्रहरी कार्यालयमा तोडफोड र आक्रमण गरेपछि सिर्जना भएको भद्रगोलका बीच उनी फरार भएका थिए।
लामो समयदेखि खोजी गरिरहेको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई शुक्रबार दिउँसो अन्दाजी ३:३० बजेको समयमा दमक नगरपालिका वडा नं. ८ स्थित सेतुमारी रोडबाट फेला पारेको हो।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका खनालमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
