झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै झापा जिल्लामा मात्रै ८०० नेपाली सेना परिचालन गरिने भएको छ। झापास्थित २१ नं बाहिनी तोपगाछी केर्खा र अरिदमन गण चारआलीबाट ती फौजहरू चुनावी सुरक्षाका लागि खटिने भएका हुन्।
नेपाली सेनाले देशभरको निर्वाचन सुरक्षाका लागि कुल ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार ‘एकीकृत सुरक्षा योजना २०८२’ अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले सोही योजना अनुरूप फौज परिचालनको प्रक्रिया अघि बढाइएको हो।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सेनाले तीन चरणमा आफ्नो जिम्मेवारी पुरा गर्नेछ:
निर्वाचन पूर्व: मतपत्र छपाइको सुरक्षा र महत्वपूर्ण राष्ट्रिय संरचनाहरूको सुरक्षा।
निर्वाचन अवधि: विमानस्थल, कारागार र अन्य संवेदनशिल क्षेत्रको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय। साथै, जिल्ला प्रशासन र अन्य सुरक्षा निकायसँग मिलेर तल्लो तहसम्म एकीकृत तालिम र अभ्यास सञ्चालन गर्ने।
मतदानको दिन: सेना मतदानस्थलको तेस्रो घेरामा बसेर राजनीतिक दल, उम्मेदवार र मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने कार्यमा सक्रिय रहनेछ।
मतदान सम्पन्न भएलगत्तै मतपेटीकाको सुरक्षित ढुवानी र मतगणनास्थलको सुरक्षा व्यवस्था मिलाउने प्रमुख जिम्मेवारी पनि सेनाले नै सम्हाल्नेछ। सुरक्षालाई प्रभावकारी बनाउन सेनाले देशका विभिन्न स्थानमा अस्थायी सुरक्षा बेसहरू समेत स्थापना गर्ने तयारी गरेको छ।
