काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल अहिले गम्भीर भूराजनीतिक दबाब र वैदेशिक हस्तक्षेपको चपेटामा फसेको दाबी गरेका छन्।
मोरङमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुक सामान्य राजनीतिक संक्रमणमा मात्र नरहेर विदेशी शक्तिहरूको खेलमैदान बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्।
लिङ्देनका अनुसार, नेपालको आन्तरिक मामिला र निर्णय प्रक्रियामा बाह्य प्रभाव यति तीव्र भएको छ कि अब नेपाली जनताको निर्णय क्षमता बिस्तारै उनीहरूकै हातबाट उम्किँदै गएको छ।
अध्यक्ष लिङ्देनले आगामी निर्वाचन र सत्ता समीकरणमा वैदेशिक शक्तिहरूको प्रत्यक्ष संलग्नता सुरु भइसकेको आरोप लगाएका छन्।
विदेशी केन्द्रहरूले नै नेपालमा कसलाई चुनाव जिताउने र कसलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउने भन्ने दाउपेच र रणनीति बुन्न थालेको उनको भनाइ छ। यस्ता सङ्केतहरू अहिलेको राजनीतिक परिदृश्यमा स्पष्ट रूपमा देखिन थालेको दाबी गर्दै उनले मुलुकको सार्वभौमिकतामाथि नै प्रश्न उठाएका छन्।
आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनका बारेमा टिप्पणी गर्दै उनले यसले विद्यमान समस्याको समाधान दिन नसक्ने ठोकुवा गरे।
राजनीतिक सहमति बिना गरिने चुनावले देशलाई निकास दिनुको साटो झन् बरबादी र अनिश्चिततातर्फ धकेल्ने उनको तर्क छ। यस्तो अस्थिरताले मुलुकको हित नगर्ने भन्दै उनले वर्तमान राजनीतिक मार्गचित्रप्रति असहमति प्रकट गरे।
अध्यक्ष लिङ्देनले देशलाई सही दिशामा डोऱ्याउनका लागि राष्ट्रवादी शक्तिहरूको एकतामा जोड दिएका छन्। राजसंस्थाको पुनस्र्थापना, हिन्दु राष्ट्र कायम गर्ने र संघीयता खारेजीको पक्षमा रहेका सबै व्यक्ति तथा समूहहरूलाई राप्रपामा गोलबन्द हुन उनले आह्वान गरे।
पार्टीलाई केन्द्रदेखि स्थानीय तहसम्म सुदृढ बनाउने अभियान सुरु भइसकेको जानकारी दिँदै उनले राष्ट्रिय एजेन्डामा एकजुट भएर मात्रै विदेशी हस्तक्षेप रोक्न सकिने बताए।
