काठमाडौँ- नेपालको वैकल्पिक राजनीतिले आज एक ऐतिहासिक र अप्रत्याशित मोड लिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका लोकप्रिय प्रमुख बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकता’ सम्बन्धी सात बुँदे सहमति भएको छ। आइतबार भएको यस सहमतिले आगामी आम निर्वाचनको राजनीतिक समीकरणलाई पूर्णतः बदल्ने संकेत गरेको छ।
सहमति अनुसार पार्टीको साङ्गठनिक नेतृत्व रवि लामिछानेले नै सम्हाल्नेछन् भने राजकीय नेतृत्व अर्थात् आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिने भएको छ। यो शक्ति सन्तुलनले दुवै नेताका समर्थकहरूमा ठूलो उत्साह जगाएको छ।
विगत लामो समयदेखि एकताको प्रयास भइरहे पनि गत हप्ताको सोमबारदेखि दुई नेताबिच सघन र निर्णायक वार्ता सुरु भएको थियो। पटक–पटकका औपचारिक तथा अनौपचारिक छलफलपछि साझा राजनीतिक दृष्टिकोण र नेतृत्वको मोडेल तयार पारिएको हो।
विशेष गरी भ्रष्टाचार र कुशासनविरुद्ध भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका एजेन्डाहरूलाई यो एकताले आफ्नो मुख्य कार्यदिशा बनाउने प्रतिबद्धता जनाएको छ।
सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक प्रणालीलाई मुख्य आधार मानिएको छ। ‘घण्टी’ चुनाव चिन्ह र रास्वपाकै झण्डामुनि गोलबद्ध हुँदै अब पार्टीले योग्य, समावेशी र सफा छवि भएका युवा अभियन्ता तथा विज्ञहरूलाई साङ्गठनिक जिम्मेवारी सुम्पिने रणनीति लिएको छ।
यो सहमतिले अन्य परिवर्तनकामी शक्ति र स्वतन्त्र समूहहरूलाई समेत एकै ठाउँमा आउन आह्वान गरेको छ। आसन्न निर्वाचन लगत्तै यस एकतालाई निर्वाचन आयोगमा कानुनी रूपमा अद्यावधिक गर्ने तयारी गरिएको छ।
