झापा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अस्तित्व जोगाउन अब टालटुले सुधारले काम नगर्ने भन्दै व्यवस्था परिवर्तनको विकल्प नभएको चेतावनी दिएका छन्।
शनिबार बिर्तामोडमा आयोजित राप्रपाको बृहत् जनजागरण सभामा उनले देश हारेमा नागरिकको भविष्य सुरक्षित नरहने भन्दै आम जनता र युवालाई जागृत हुन आह्वान गरे।
लिङ्देनले आगामी निर्वाचनअघि नै राजा, राजनीतिक दल, ‘जेनजी’ पुस्ता र सरोकारवाला पक्षबीच नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको प्रस्ताव अघि सारे।

उनले कांग्रेस, एमाले र माओवादीलाई देश डुबाएको आरोप लगाउँदै भ्रष्टाचारलाई राप्रपाले मुख्य शत्रु ठानेको स्पष्ट पारे।
संवैधानिक निकायमा दलीय भागबण्डा अन्त्य नभएसम्म भ्रष्टाचारविरुद्ध कारबाही सम्भव नहुने उनको दाबी थियो।
सभामा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले संघीय संरचना मुलुकका लागि ‘सेतो हात्ती’ सावित भएको भन्दै तत्काल प्रदेश खारेजीको माग गरे।

युवाहरूको भविष्य अन्धकारतर्फ धकेलिँदै गएको चेतावनी दिँदै उनले व्यवस्था बदल्न सडकमा आउन युवालाई आह्वान गरे।
उल्लेख्य संख्यामा कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको सभाले झापामा राप्रपाको शक्ति प्रदर्शन मात्र गरेन, विद्यमान राजनीतिक व्यवस्थाप्रति तीव्र असन्तुष्टि पनि प्रकट गर्यो।
वक्ताहरूले भ्रष्टाचार र राजनीतिक नियुक्तिलाई संस्थागत पतनको मुख्य कारण ठहर गर्दै कडा आलोचना गरेका थिए।
