झापा- स्वास्थ्य क्षेत्रमा चरम लापरबाही गरेको पाइएपछि बिर्तामोडस्थित गोदावरी डाइग्नोस्टिक सेन्टरमा प्रशासनले ताला लगाएको छ।
स्वास्थ्य परीक्षणका लागि तोकिएको न्यूनतम मापदण्ड समेत पालना नगरी प्रयोगशाला सञ्चालन गरेको पाइएपछि सरकारी अनुगमन टोलीले उक्त सेन्टरमा शिलबन्दी गरेको हो।
बिर्तामोड–१ स्थित पश्चिम स्टेन्डमा नेत्रप्रसाद उप्रेती र जीवन लिम्बूले सञ्चालन गर्दै आएको उक्त डाइग्नोस्टिक सेन्टरमा शुक्रबार आकस्मिक अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा प्रयोगशालाको गुणस्तर र प्रक्रियामा गम्भीर त्रुटीहरू भेटिएकाले तत्कालका लागि सेवा बन्द गराइएको अनुगमन टोलीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईको नेतृत्वमा खटिएको उक्त टोलीमा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी सहायक निरीक्षक देउ मेचे लगायतको सहभागिता रहेको थियो।
सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्ने यस्ता संस्थाहरूमाथि आगामी दिनमा पनि कडा निगरानी राखिने प्रशासनले स्पष्ट पारेको छ।
