झापा- नेकपा (एमाले) झापा जिल्ला कमिटीले गत भदौ २३ र २४ गते भएको ‘जेन्जी’ आन्दोलनमा घुसपैठ गरी गरिएको भौतिक क्षति, नागरिकको हत्या र वर्तमान सरकारको अकर्मण्यताप्रति घोर आपत्ति जनाउँदै विरोधका कार्यक्रमहरू घोषणा गरेको छ ।
मंगलबार एमाले झापाद्वारा आयोजित पत्रकार सम्मेलन गर्दै एमाले झापाका अध्यक्ष प्रेम गिरीले भदौ २४ गतेको देशव्यापी विध्वंसलाई ‘देशी–विदेशी शक्तिको सुनियोजित योजना र षड्यन्त्र’ को परिणाम भएको दाबी गरेका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भदौ २३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिइसकेपछि पनि २४ गते व्यापक तोडफोड, आगजनी र नागरिकको हत्या हुनुले यसमा ठूलो षड्यन्त्र लुकेको स्पष्ट हुन्छ ।”
सुरक्षा व्यवस्था र सरकारको नियतमाथि प्रश्न
एमाले झापाले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार निर्वाचन गराउने म्यान्डेटमा गठन भए पनि शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप लगाएको छ ।
जेलबाट भगाइएका अपराधीहरू अझै नियन्त्रणमा नआउनु, लुटिएका हतियार फिर्ता नहुनु र सुरक्षाकर्मीको मनोबल गिराउने काम भइरहेकोमा पार्टीले चिन्ता व्यक्त गरेको छ ।
साथै, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूको सुरक्षा जनशक्ति घटाउने र उनीहरूलाई स्थान हद (स्थान निषेध) गर्ने कार्यप्रति पार्टीले कडा असन्तुष्टि व्यक्त गरेको छ ।
“देशमा संवैधानिक संकट खडा गरेर स्वार्थ सिद्ध गर्ने जुनसुकै शक्तिलाई परास्त गर्नु आजको आवश्यकता हो,” विज्ञप्तिमा उल्लेख छ ।
छानबिन आयोगको निष्पक्षतामा शंका
पार्टीले भदौको घटना छानबिन गर्न गठित आयोगको निष्पक्षतामाथि पनि प्रश्न उठाएको छ ।
आयोगका जिम्मेवार व्यक्तिहरूले छानबिन नसकिँदै सामाजिक सञ्जालमार्फत राजनीतिक दलका नेताहरूमाथि आक्रमण हुने खालका अभिव्यक्ति दिएको भन्दै एमालेले यस्तो प्रक्रियाको विरोध गरेको छ ।
अति मूल्यवान् सरकारी कागजपत्र जलाइएको र सुरक्षाकर्मीको भूमिकामा देखिएको अस्पष्टताबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग पार्टीले राखेको छ ।
पुस १० गते दमक र बिर्तामोडमा प्रदर्शन
एमाले झापाले संविधान र लोकतन्त्रको रक्षाका लागि “टुलुटुलु हेरेर नबस्ने” चेतावनी दिँदै आगामी पुस १० गते झापाका दुई मुख्य सहरहरू दमक र बिर्तामोडमा बृहत् ‘खबरदारी कार्यक्रम’ आयोजना गर्ने घोषणा गरेको छ ।
विदेशी दलाल र प्रतिगामी तत्वहरूबाट हुन सक्ने सम्भावित हुलहुज्जतको सामना गर्न गाउँ–गाउँमा ‘सुरक्षा समिति’ परिचालन गरिने र जवाफी प्रतिरक्षाका लागि तयार रहन पार्टीले सम्पूर्ण कार्यकर्ता र शुभचिन्तकहरूलाई आह्वान गरेको छ ।
निर्वाचन हुन नसक्ने अवस्था आएमा संसदको पुनर्स्थापना र सर्वपक्षीय सरकारमार्फत ‘अर्ली इलेक्सन’मा जानुपर्ने विकल्पसमेत एमालेले अघि सारेको छ ।
