काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १५ औं महाधिवेशनमा पार्टी सभापति पदका लागि प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू सभापतिको उम्मेदवार रहेको र नेतृत्व सम्हाल्न तयार रहेको दाबी गरे। थापाले महाधिवेशन केवल नेतृत्व परिवर्तनको माध्यम मात्र नभई समग्र पार्टीलाई नै नयाँ जीवन दिने अवसर भएकोमा जोड दिए।
सम्बोधनका क्रममा महामन्त्री थापाले महाधिवेशनको तयारी र क्रियाशिल सदस्यको विवरण सङ्कलनमा भइरहेको ढिलाइप्रति कडा आपत्ति जनाए। तल्लो तहबाट आउनुपर्ने विवरणहरू समयमै नआएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले यसलाई नियोजित अवरोधको रूपमा सङ्केत गरे।
“राम्रो बाटोमा पानी खन्याएर हिलो छ भन्दै हिँड्न सकिँदैन भन्न खोजिएको जस्तो देखिन्छ,” उनले भने, “समयमै अधिवेशन सम्पन्न गर्न सकिने अवस्था हुँदाहुँदै पनि कता कता ढिलासुस्तीको गन्ध आइरहेको छ।”
थापाले आगामी आम निर्वाचनअघि नै महाधिवेशन सम्पन्न हुनुपर्नेमा आफ्नो स्पष्ट अडान रहेको दोहोर्याए। पार्टी सभापति शेरबहादुर देउवालाई पनि यसबारे स्पष्ट पारिसकेको जानकारी दिँदै उनले महाधिवेशनका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए।
नियमित महाधिवेशन वा विशेष महाधिवेशन जे भए पनि निर्वाचनअघि नै हुनुपर्ने र महाधिवेशन बिना काँग्रेस चुनावमा जान नहुने उनको तर्क छ।
