काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुकको कार्यकारी प्रमुख बनेर देशको सेवा गर्ने तीव्र इच्छा व्यक्त गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित ‘जेन-जी’सँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताले विश्वास गरेमा आगामी निर्वाचनमार्फत प्रधानमन्त्री भएर देशलाई नयाँ दिशा दिने दाबी गरे।
विप्लवले आफ्नो राजनीतिक जीवनमा बन्दुक बोकेको, जेल बसेको र अध्ययन पनि गरेको स्मरण गर्दै अब देश निर्माणको पालो आएको बताए।
उनले भने, “यदि किसान, मजदुर, बुद्धिजीवी र युवा पुस्ताले हामीलाई एक पटक मौका दिने हो भने, प्रधानमन्त्रीको रूपमा गोरु जस्तै जोतिएर देशको सेवा गर्ने हाम्रो चाहना छ।”
उनले आगामी निर्वाचनमा आफ्नो पार्टी पनि सहभागी हुने र युवा पुस्तालाई साथमा लिएर अघि बढ्ने उद्घोष गरे।
सम्बोधनकै क्रममा महासचिव विप्लवले आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचनप्रति गम्भीर आशंका व्यक्त गरे। सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले चुनाव गराउन सक्नेमा कसैलाई विश्वास नभएको टिप्पणी गर्दै उनले प्रहरी र कर्मचारीको गिरेको मनोबल, लुटिएका हतियार फिर्ता नहुनु र बजेटको अभाव जस्ता कारणले निर्वाचन अन्योलमा रहेको बताए।
उनले यो सरकारबाट जेन-जी आन्दोलनका मागहरू सम्बोधन हुन नसक्ने र भ्रष्टाचारीलाई कारबाही गर्ने तत्परता नदेखिएको आरोपसमेत लगाए।
मुलुकको विद्यमान राजनीतिक निकासका लागि विप्लवले सर्वपक्षीय अन्तरिम सरकार गठनको प्रस्ताव अघि सारेका छन्। उनले अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्नेमा जोड दिँदै भने, “प्रत्यक्ष निर्वाचित कार्यकारी नै आजको युवा पुस्ता र हाम्रो पार्टीको साझा माग हो।”
निर्वाचनमार्फत नयाँ शक्ति उदाउनुपर्ने बेला पुरानै शक्तिहरू सलबलाउन थालेको भन्दै उनले सचेत रहन आग्रह गरे।
