चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा सुशासनको प्रत्याभूति गर्दै समयमै निर्वाचन सम्पन्न गर्न सरकारसँग माग गरेका छन्।
चितवनमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले देशको भविष्यका लागि ठोस कदम चाल्नुपर्ने बेला आएको बताए।
सभापति लामिछानेले पुराना राजनीतिक दलहरूले नागरिकलाई दुःख दिएको आरोप लगाउँदै नयाँ शक्तिहरूले जनताको भरोसा नतोड्ने दाबी गरे।
“भत्केका संरचना बनाउनु र टुटेका सपनाहरूलाई आवाज दिनु आजको आवश्यकता हो,” उनले भने, “पुराना दलबाट पीडित हुनुभएका तपाईंहरूलाई नयाँले दुःख दिने छैनन्।”
उनले आगामी निर्वाचनलाई जनताको भविष्यसँग जोड्दै सुशासनको डण्डा चलाएर निर्वाचनको तयारी गर्न आग्रह गरे।
सम्बोधनका क्रममा लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गर्दै भने, “प्रधानमन्त्रीको अनुहारमा अँध्यारो देखिरहेको छु, सुशासनका काम गरेर आफ्नो अनुहार उज्यालो पार्नुहोस्।”
