झापा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट पुनः उम्मेदवार बन्ने निश्चित भएको छ।
राप्रपा क्षेत्रीय समितिको विस्तारित बैठकले लिङ्देनको नाम प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा एकल सिफारिस गरेको हो।
योसँगै लिङ्देन सोही क्षेत्रबाट लगातार तेस्रो पटक चुनावी मैदानमा उत्रिने भएका हुन्। उनले यसअघि दुई पटक सोही क्षेत्रबाट निर्वाचन जितिसकेका छन्।
बैठकले प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाए पनि समानुपातिकतर्फको नामावली भने अझै बाँकी रहेको जनाएको छ। भूगोल र समावेशितालाई ध्यान दिँदै दुई दिनभित्र समानुपातिक उम्मेदवारको सिफारिस गरिने क्षेत्र नं ३ का प्रतिनिधिहरूले बताएका छन्।
यस्तै, झापाका अन्य क्षेत्रहरूको तयारीबारे जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिँदै क्षेत्र नं १ र ५ को उम्मेदवार सिफारिस पर्सिसम्ममा टुंगो लाग्ने बताए।
जिल्ला समितिका अनुसार आगामी पुस १२ गतेभित्र पाँचवटै क्षेत्रीय समितिहरूले उम्मेदवारको नामावली सिफारिस गरिसक्नुपर्ने समयसीमा तय गरिएको छ।
