झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार जिल्ला अदालत रूपन्देहीमा उपस्थित भई आवश्यक कागजी प्रक्रिया पूरा गरेर थुनामुक्त भएका छन्।
तुलसीपुर उच्च अदालतको आदेशपछि रिहा भएका लामिछाने साँझ ५ बजेर ३७ मिनेटमा जिल्ला अदालत पुगेका थिए। अदालतले पहिले नै कागजातहरू तयार राखेका कारण कानुन व्यवसायीको रोहबरमा सनाखत गर्ने कार्य छिट्टै सम्पन्न भएको थियो।
काठमाडौंबाट रूपन्देही जाने क्रममा खराब मौसमका कारण केही कठिनाइ उत्पन्न भएको थियो। भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सम्भव नभएपछि उनी चितवनको भरतपुर विमानस्थल ओर्लिएर सडकमार्ग हुँदै रूपन्देही पुगेका थिए।
लामिछानेलाई अदालतले नै पत्राचार गरी बोलाएका कारण ढिलो गरी पुग्दा पनि कर्मचारीहरूले प्रक्रिया पूरा गर्न प्रतिक्षा गरेका थिए।
लामिछाने थुनामुक्त हुने खबरले बिहानैदेखि रूपन्देहीमा समर्थकहरूको ठूलो चहलपहल देखिएको थियो। गौतमबुद्व विमानस्थल र जिल्ला अदालत परिसरमा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
उडानको रुट परिवर्तन भएपछि विमानस्थलमा कुरिरहेका समर्थकहरू पछि अदालततर्फ केन्द्रित भएका थिए र लामिछाने अदालत पुग्दा बाहिर स्वागतका लागि भीड लागेको थियो।
