काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच शुक्रवार अपरान्ह शिष्टाचार भेटवार्ता भएको छ।
एमाले अध्यक्ष ओली देउवाको महाराजगञ्जस्थित निवासमा पुगेर भेटेका हुन्।
यो भेटघाट ‘जेन-जी आन्दोलन’ यताको पहिलो भेट भएको बताइएको छ। तत्कालीन समयमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार रहँदा भएको उक्त आन्दोलनको कारण ओली सत्ताच्युत हुनुपरेको थियो।
सोही क्रममा देउवा दम्पतीमाथि उनको बुढानीलकण्ठस्थित निवासमा भौतिक आक्रमण, र देउवा तथा ओली दुवै नेताको निवासमा आगजनी र तोडफोड समेत भएको थियो।
भेटका क्रममा नेकपा एमाले अध्यक्ष ओलीले देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै, दुई शीर्ष नेताहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयहरूमा समेत छलफल भएको छ।
