झापा- झापामा जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय (इप्रका) बिर्तामोडमा भएको तोडफोड र आगजनीको घटनामा संलग्न भएको आरोपमा ८ जनालाई जेल चलान गरिएको छ।
झापा जिल्ला अदालतमा भएको थुनछेक बहसपछि सुनसरीका २२ वर्षीय शाहिद हुसैन अन्सारी, बिर्तामोडका ४५ वर्षीय नवराज राई, र २१ वर्षीय बादल राजवंशीलाई आपराधिक उपद्रव, थुनुवा भागे भगाएको र हातहतियारसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार पठाइएको हो।
यसअघि नै राजन चौधरी, आयुष धिमाल र अनिश मण्डललाई पनि कारागार पठाइसकिएको थियो। नवराज राईमाथि तेहोरो र अनिश मण्डल, शाहिद हुसैन अन्सारी, पूजा मगर, र सुरज राईमाथि दोहोरो अभियोग लागेको प्रहरीले जनाएको छ।
बिर्तामोड घटनाका अन्य दुई प्रतिवादीहरू— २४ वर्षीया पूजा मगर र २८ वर्षीय सुरज राईलाई भने अदालतले जनही ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
तर, झापा जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतका अनुसार, धरौटी रकम बुझाउन नसकेपछि ती दुईजनालाई पनि झापा कारागारमा थुनामा पठाइएको छ। यसरी बिर्तामोड घटनामा पुर्पक्ष र धरौटी तिर्न नसकेका गरी कुल ८ जनालाई जेल चलान गरिएको छ।
यसैगरी, जेनजी आन्दोलनकै क्रममा इप्रका दमकमा आक्रमण गर्ने १३ जना पनि पुर्पक्षका लागि कारागार चलान भएका छन्। मंसिर १६ गतेको आदेशले पाँचथर, इलाम र दमकका १० जनालाई कारागार पठाइएको थियो। यसअघि कात्तिक २७ गतेको आदेशअनुसार पनि तीनजनालाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो।
प्रहरीले जेनजी आन्दोलनमा संलग्न पक्राउ परेकाहरूमाथि ‘ज्यान मार्ने उद्योग’, ‘आपराधिक उपद्रव’, ‘हतियार खरखजाना’, र ‘अभद्र व्यवहार’ लगायतका विभिन्न प्रकृतिका मुद्दा चलाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले दिएको जानकारीअनुसार, जेनजी आन्दोलनमा संलग्न भएर झापाका विभिन्न प्रहरी कार्यालयहरूमा आक्रमण गर्ने कुल ४६ जना पक्राउ परेका थिए। तीमध्ये हालसम्म २१ जनालाई जेल चलान गरिसकिएको छ।
बाँकी प्रतिवादीहरूमध्ये चारजना नाबालकलाई अभिभावकको जिम्मा लगाइएको छ, तीनजना (सन्तबहादुर मोते, उमेश थापा र केदार बस्नेत) लाई धरौटीमा रिहा गरिएको छ, र सातजना हाजिरी जमानीमा छुटेका छन्। बाँकी प्रतिवादीमाथि भने अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
