झापा- झापामा ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीबाट लुटिएका ठूलो सङ्ख्याका हतियार, गोली र अश्रुग्यासका सेलहरू अझै फेला परेका छैनन्।
प्रहरी स्रोतका अनुसार, जम्मा २४ थान हतियार लुटिएकोमा हालसम्म ४ थान मात्र भेटिएका छन्। यसरी लुटिएका बाँकी २० थान हतियार कहाँ छन् भन्नेबारे प्रहरी अनभिज्ञ छ।
फिर्ता नभएका हतियारहरूमध्ये ५ थान सानो हतियार, ११ थान लामो हतियार (एसएलआरलगायत), र ४ थान शर्टगन/ग्यासगन रहेका छन्। हतियारका साथसाथै ९,३३२ राउण्ड गोली र १०९ सेल अश्रुग्यास पनि गायव नै रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
आन्दोलन भएको करिब अढाई महिना बितिसक्दासमेत यति ठूलो मात्रामा लुटिएका हतियार र बारुद फेला नपर्दा जिल्लामा सुरक्षा चुनौती बढेको देखिएको छ।
प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको पहिचान गरी उनीहरूमाथि धरपकडलाई तीव्रता दिएको छ। अहिलेसम्म प्रहरीले ३० जनालाई पक्राउ गरिसकेको छ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूको बयान र खोजतलासका आधारमा लुटिएका हतियारहरू फेला पार्ने क्रम जारी रहेको छ।
