झापा- जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक–९ बस्ने १९ वर्षीय सुन्दर गिरी रहेका छन्।
प्रहरीले दिएको जानकारीअनुसार, जेनजी आन्दोलनका बेला इप्रका दमकको कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने र प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गर्ने कार्यमा उनी संलग्न थिए।
विभिन्न फोटो तथा भिडियो फुटेजको आधारमा इप्रका दमकबाट खटिएको टोलीले उनलाई गएराति १:१० बजे नियन्त्रणमा लिएको हो।
पक्राउ परेका गिरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि हाल इप्रका दमकमा राखिएको छ।
यससँगै, जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरूमा आक्रमण गरेको आरोपमा पक्राउ पर्नेहरूको कुल सङ्ख्या ३० पुगेको छ।
यसअघि बिर्तामोडबाट १६ जना र दमकबाट १३ जना पक्राउ परिसकेका थिए।
Facebook Comments Box
