झापा- बारा जिल्लामा नेकपा (एमाले) का नेताहरू शंकर पोखरेल र महेश बस्नेत आउने सूचना सार्वजनिक भएलगत्तै सिमरा विमानस्थल आसपासका क्षेत्रमा युवाहरूले प्रदर्शन सुरु गरेका छन्।
प्रदर्शनका कारण स्थिति क्रमशः तनावपूर्ण बन्दै गएपछि स्थानीय प्रशासनले सुरक्षाको जोखिम बढेको भन्दै तत्कालका लागि विमानस्थल वरपर कर्फ्यू आदेश जारी गरेको छ।
हाल प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच घर्षण तथा झडप भइरहेको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र कुमार मिश्रको आदेशअनुसार सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिने, साथै पदाधिकारी र सार्वजनिक कार्यालयहरूको सुरक्षा सुनिश्चित गर्नका लागि यो कर्फ्यू लगाइएको हो। कर्फ्यू आज बेलुका ८ बजेसम्म लागू हुनेछ।
कर्फ्यू लागू गरिएका क्षेत्रहरूमा गण्डक नहरदेखि पथलैया सडकको दायाँ–बायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थलको वरपर ५०० मिटर क्षेत्र समावेश छन्।
