झापा- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे जेनजी आन्दोलनपछि पहिलोपटक आफ्नो गृहजिल्ला झापा आइपुगेका छन्।
२०७९ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट विजयी भएका घिमिरे करिब चार महिनापछि आफ्नो निर्वाचन क्षेत्रमा आउँदा अहिले उनी निवर्तमान सांसदको भूमिकामा छन्।
घिमिरेले आफ्नो भ्रमणका क्रममा जेनजी आन्दोलनले क्षतिग्रस्त बनाएका सरकारी तथा राजनीतिक संरचनाहरूको निरीक्षण गरेका छन्।
यसअघि गत असार ३२ गते उनले बिर्तामोड नगरपालिकाको करिब ५ करोडको लागतमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका थिए।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको सोही भवनको अवस्था हेर्न उनी अहिले बिर्तामोड आइपुगेका हुन्।
यस क्रममा उनले बिर्तामोड नगरपालिकाको कार्यालय भवनका साथै इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, एमाले, माओवादी, र नेपाली कांग्रेसका जिल्ला पार्टी कार्यालयहरू समेतको निरीक्षण गरेका थिए।
तीन दिने कार्यक्रमका लागि गृहजिल्ला आएका घिमिरेले बिर्तामोड ८ र ६ मा अवस्थित हर्कलाल मार्ग तथा वडा नं ३ स्थित गोकुल मार्ग लगायतका विकास निर्माणका कार्यहरूको पनि अवलोकन गरेका छन्।
