काठमाडौँ- गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का कारण उत्पन्न असहजताबाट काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको छ ।
आन्दोलनको केही समय वर्दी र जुत्ताविहीन अवस्थामै चप्पल लगाएर सवारी व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरू अहिले पूर्ण तयारीका साथ सेवामा फर्किएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार उपत्यकामा नियमित ट्राफिक चेकिङ र नियम उल्लंघन गर्नेलाई जरिवाना तथा कारबाही प्रक्रिया सुरु भइसकेको छ ।
मापसे चेकिङ व्यापक, ६०-७० ठाउँमा चेकपोस्ट
चाडपर्वको समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा हुन सक्ने दुर्घटना जोखिम कम गर्न उपत्यकाभर ६० देखि ७० ठाउँमा मापसे चेकपोस्ट खडा गरिएको छ । अधिकारीले सुरक्षामा सम्झौता नगरिने भन्दै ‘सरप्राइज चेकजाँच’ पनि हुने बताए ।
उनका अनुसार ट्राफिक प्रहरीले बाइक मोडिफाइ गर्ने र चोरी गर्ने कार्य नियन्त्रणमा पनि सक्रियता बढाएको छ । ‘बढी जाम हुने ठाउँहरू पहिचान (लोकेट) गरेर अतिरिक्त जनशक्ति खटाएका छौँ,’ अधिकारीले भने, ‘पार्किङको समस्या, ट्राफिक लाइट व्यवस्थापन तथा स्पिड मापन गर्ने संयन्त्रहरू पनि पूर्ण रूपमा सुचारु छन् ।’
अनलाइन सेवा बन्द, सबै काम भौतिक रूपमा
ट्राफिक प्रहरीले अनलाइनबाट दिँदै आएका केही सेवा हाललाई बन्द गरेको छ । ‘नागरिक एप’ र यातायात व्यवस्था विभागको सर्भरले काम नगरेका कारण विभागले सूचना जारी गरी अनलाइन सेवा बन्द गरेपछि सबै कामहरू भौतिक रूपमै भइरहेको छ ।
मापसे कक्षा तिहारपछि मात्रै सुरु हुने भएको छ । अहिलेसम्म चिट काटिएका सबै चालकहरूले तिहारलगत्तै अनिवार्य रूपमा कक्षा लिनुपर्नेछ । ब्रेथलाइजर कम भएर चेकिङ कम नगरिएको, बरु नियमित रूपमै चेकजाँच भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले स्पष्ट पारे ।
पुनर्स्थापना लगभग पूरा, मनोबल बढाउँदै ट्राफिक प्रहरी
जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ७८ वटा युनिटमध्ये ६ वटाबाहेक सबैमा ट्राफिक सेवा पुनर्स्थापित भइसकेको छ । कागजात नष्ट भएका हकमा अनलाइन आवेदन दिए सिफारिस दिने र यातायात कार्यालयबाट नयाँ कागजात बनाउन सकिने व्यवस्था मिलाइएको छ ।
प्रहरी अधिकारीका अनुसार नागरिकहरूले भवन मर्मत र पुनर्निर्माणमा देखाएको सहयोगले प्रहरीको मनोबल बढेको छ । मनोबल बढाउन आन्तरिक रूपमा फिल्म हेर्ने वा हाइकिङ जाने लगायतका रिफ्रेसमेन्ट कार्यक्रमहरू पनि भइरहेको उनले जानकारी दिए । ट्राफिक प्रहरी अहिले पहिलेभन्दा प्रभावकारी र परिष्कृत सेवा दिने कोसिसमा रहेको उनले बताए ।
