झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक मूल्य तथा मान्यताविपरीत संसद चलिरहेको बताएका छन्।
राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आवाजलाई जानाजानी दबाइएको उनले आरोप लगाएका हुन्। आइतबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रजातन्त्रको आधारभूत मूल्यविपरीत संसद् चलिरहेको भन्दै आक्रोश व्यक्त गरे।
लिङ्देनले प्रजातन्त्रमा प्रत्येक सांसदको आवाज सुन्नुपर्नेमा जोड दिँदै भने, “हाम्रो परिकल्पना के हो भने संसद्मा प्रतिनिधित्व गर्ने एक जना सांसदको पनि आवाज सुन्नुपर्छ।”
तर, राप्रपा र रास्वपाजस्ता दुई ठूला दलको विरोधलाई पनि सुनुवाइ नगरिएको उनको गुनासो थियो। संसद्मा आफ्ना कुरा नसुनिएपछि अब यी दुई दल सडकमार्फत आफ्नो आवाज उठाउन बाध्य हुने उनले चेतावनी दिए।
नयाँ नेतृत्वलाई स्थान दिने प्रतिवद्धता
लिङ्देनले पार्टीको आन्तरिक नेतृत्वबारे पनि महत्त्वपूर्ण धारणा राखे। उनले युवा र नयाँ पुस्तालाई पार्टीको नेतृत्व सुम्पिन आफू सधैँ तयार रहेको बताए।
“पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउन अन्य देशबाट मान्छे ल्याउने त होइन,” उनले भने, “हामीले देशभित्रैबाट खोज्ने हो। म त जहिले खुल्ला छु नयाँ तथा युवाले पार्टीको नेतृत्व गर्नुपर्छ भन्नेमा।”
लिङ्देनले पार्टीमा मानिसहरू केवल उनलाई नेता मान्न मात्र नआउने, आफैँ नेता बन्न पनि आउने गरेको बताए। यसले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र नयाँ सम्भावनालाई प्रस्ट पार्ने उनको भनाइ थियो।
उनले यस क्रममा कहिलेकाहीँ गलत मानिसहरू पनि पार्टीमा प्रवेश गर्ने गरेको स्वीकार गरे। यद्यपि, एक–दुई जना गलत मान्छे परे भन्दैमा नयाँ मानिसलाई स्थान दिनबाट पछि हट्न नहुने उनको भनाइ थियो। उनले यही उदारताका कारण राप्रपा अगाडि बढिरहेको दाबी गरे।
लिङ्देनले नेतृत्वको पदलाई जीवनभरि टाँसिरहनुपर्छ भन्ने मान्यताको आफू विरोधी रहेको र नयाँ पुस्ताका लागि ठाउँ खाली गर्नुपर्छ भन्नेमा विश्वास राख्ने बताए।
राप्रपा अध्यक्ष लिङ्देनले पार्टीको महाधिवेशन समयमै गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन्।