झापा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरेर आफूसँग प्रतिस्पर्धा गर्न चुनौती दिएका छन्।
शनिबार झापाको बिर्तामोडमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले ओलीलाई यस्तो चुनौती दिएका हुन्।
उनले आफूलाई जनतामाझ निकै लोकप्रिय ठान्छन् भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका रूपमा प्रतिस्पर्धा गर्न आग्रह गरे।
यसका साथै, उनले आवश्यक परे झापा क्षेत्र नम्बर ५ बाटसमेत निर्वाचन लड्न तयार रहेको स्पष्ट पारे।
लिङ्देनले प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई आफू झापामा कहाँबाट चुनाव जित्छन्, हेरौंला भनेर भनेको कुरालाई लिएर सांसद बन्नु वा नबन्नु भन्दा माथि उठेर आफू राजनीतिमा लागेको बताए।
उनले भने, ‘म सांसद त के, बाँकी जीवन एउटा वडाको सदस्य नभई मर्न तयार छु तर यो भ्रष्ट व्यवस्थाको विरुद्ध उभिन्छु भनेर आएको हुँ।’
लिङ्देनले आफ्नो मुख्य उद्देश्य प्रधानमन्त्री, मन्त्री वा सांसद बन्नु नभएको र केवल एउटा सांसद जित्नु मात्रै आफ्नो लक्ष्य नरहेको स्पष्ट पारे।
उनले सन् २०८४ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित प्रतिस्पर्धा गर्न प्रधानमन्त्रीलाई चुनौती दिए।