बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन(क्रान्तिकारी) झापाको १५ औं जिल्ला सम्मेलन माघ अन्तिम साता हुने भएको छ ।
संगठनले शनिवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी माघ २८ र २९ गते बिर्तामोडमा हुने जिल्ला एकता सम्मेलनको तयारी थालेको जनाएको छ । सम्मेलनलाई लक्षित गरेर बिद्यार्थी नेताहरुलाई जिम्मेवारी पनि तोकिएको छ । जस अन्तरगत प्रतिवेदन लेखा समितिमा महेन्द्र भट्टराई, नरेश चुडाल, खगेन्द्र सुवेदी, रवि बस्नेत र प्रकाश मिश्र छन् ।
त्यस्तै प्रचारप्रसार समितिमा अनिल सुवेदी, रञ्जन धमला, बिजय खाती र हैकम घिसिङ छन् । ब्यवस्थापनमा खगेन्द्र सुवेदी, रवि बस्नेत, कुमार खतिवडा तथा बिद्यार्थी स्वयम् सेवकमा अनिल सु्वेदी र सहसंयोजकमा बिपिन बस्नेतलाई जिम्मेवारी दिइएको छ ।
जिल्लाका क्याम्पसहरुमा बिद्यार्थी जागरण अभियान सञ्चालन गर्ने निर्णय समेत भएको संगठनले जनाएको छ । क्रान्तिकारीले फागुन १४ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनलाई जतिसक्दो बिद्यार्थीका पक्षमा उपयोग गर्ने भएको छ । त्यसका लागि सम्पूर्ण त्रिभूवन विश्व बिद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुमा बिद्यार्थी युनियन गठन गर्ने निर्णय भएको क्रान्तिकारीका केन्द्रीय सचिव महेन्द्र भट्टराईले बताए ।
संगठनका जिल्ला संयोजक प्रकाश मिश्रले सम्मेलन तयारीसँगै निजी बिद्यालयमा हुँदै आएको अनियमितता र मनपरी रोक्न अनुगमन गरिने बताए । संगठनले सार्वजनिक यातायातमा पाउँदै आएको सहुलियत अनिवार्य रुपमा कार्यान्वयन गराउने, निजी शैक्षिक संस्थाका यातायातको भाडादरमा एकरुपता ल्याउन संघर्ष समेत गर्ने भएको छ । त्यस्तै बिना दर्ता सञ्चालित शैक्षिक संस्थालाई कानुनी दायारामा ल्याउन अनुगमन, नियमन तथा नियन्त्रण गर्ने संगठनका जिल्ला इन्चार्ज खगेन्द्र सुवेदीले बताए ।