झापा- झापाको दमकमा आफ्नै शरीरमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेकी ३० वर्षीया शोभाकुमारी साहको उपचारको क्रममा मृत्यु भएको छ।
बुधबार राति बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उनको निधन भएको दमक प्रहरीले पुष्टि गरेको छ।
दमक नगरपालिका-१, भानुभक्त चोककी मनोज साहकी श्रीमती शोभाले हिजो दिउँसो करिब ४:३० बजे आफ्नो तीनतले घरको दोस्रो तलामा रहेको कोठाको ढोका थुनेर शरीरमा आगो लगाएकी थिइन्।
सामान्य उपचारपछि दमक अस्पतालले उनलाई धरान रिफर गरेको थियो, तर त्यहाँ चिकित्सक उपलब्ध नभएपछि पुनः बीएण्डसी अस्पताल ल्याइएको थियो।
करीब एक महिनाअघि छोरीसहित बेपत्ता भएकी शोभाकुमारी हिजो मात्र घर फर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।
मनोजकी कान्छी श्रीमती शोभा र मनोजबीच लामो समयदेखि घरायसी विवाद चल्दै आएको थियो। गत असार ३२ गते उनी मनोजकी जेठी श्रीमतीकी छोरी सुरभीलाई लिएर बेपत्ता भएकी थिइन्।
मनोजले आमाछोरी हराएको भनी इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए। बेपत्ता भएको ६ दिनपछि सुरभी भारतको सिलिगुडीस्थित सूर्यसेन पार्कमा एक्लै भेटिएकी थिइन्।
पार्कको सीसीटीभी फुटेजका आधारमा सुरभीलाई शोभाले नै त्यहाँ छाडेर गएको प्रहरीले पत्ता लगाएको थियो। कानूनी प्रक्रिया पूरा गरी मनोजले छोरीलाई घर फर्काएका थिए। तर शोभा भने त्यतिबेला फेला परेकी थिइनन्।
