ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने र करको दायरामा आउनुपर्ने बताएका छन्।
आइसिटी फाउण्डेशनले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि नै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी दिए। उनले भने, “सूचना प्रविधिसँग सम्बन्धित रहेर नेपालमा हुने सबै कारोबार नेपाल सरकारले थाहा पाउनुपर्छ। नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले कानुनअनुसार दायित्व पूरा गर्नुपर्छ र कर तिरेको हुनुपर्छ।”
उनले सरकार सूचना प्रविधिको विकासका लागि प्रतिबद्ध रहेको र जनताको हितमा यसको प्रयोग गरिने उल्लेख गरे। साथै, उनले डिजिटल प्रविधि र हरित ऊर्जाका लागि नेपाल उपयुक्त गन्तव्य भएको र आर्टिफिसियल इन्टेलिजेन्सको भरपुर प्रयोग गरी विकास तथा समृद्धिमा लाग्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले गत वर्षदेखि अनलाइन माध्यमबाट सञ्चालन गरिएको एसईईका कक्षाबाट १ लाख ५० हजारभन्दा बढी विद्यार्थीले लाभ लिएको र नतिजामा सुधार आएको जानकारी दिए। उनले सूचना प्रविधिको सही सदुपयोगबाट सुशासन कायम गर्न र भ्रष्टाचार शून्यमा पुर्याउन सकिने धारणा राखे।
