काठमाडौं- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै सरकारी निकायहरूलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएका छन्।
शहरी विकास मन्त्रालयमा बसेको एक बैठकमा उनले पछिल्लो अवस्थाबारे जानकारी लिँदै सम्भावित क्षतिबाट बच्न उच्च सतर्कता अपनाउन जोड दिए।
बैठकमा सिंहले खोज तथा उद्धारका लागि तयार रहन र विपद्को जोखिम भएका क्षेत्रमा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन पनि निर्देशन दिएका थिए।
यस क्रममा गृहमन्त्री रमेश लेखकले मनसुनको जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अति आवश्यकबाहेक कार्यक्षेत्र नछोड्न निर्देशन दिएको जानकारी गराए।
जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिले लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दियामा वर्षा हुने प्रणाली सक्रिय रहेको र भारी वर्षाका कारण बबई र राप्ती नदीको पश्चिमी भागका बस्तीहरू डुबानमा पर्न सक्ने सम्भावना रहेको जानकारी दिएका थिए। साथै, आज राति कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको र अर्को वर्षा प्रणाली मकवानपुरमा सक्रिय हुने अनुमान गरिएको पनि बैठकमा बताइएको थियो।
बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले मधेश प्रदेशमा देखिएको खडेरीको अवस्थाबारे पनि चासो राखेका थिए। प्राधिकरणका प्रमुखले हाल मधेशमा वर्षा भइरहेकोले धान रोपाइँको क्षेत्रफल बढ्न सक्ने जानकारी दिएका थिए।
बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट लगायतका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए।
