काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी छाड्न सुझाव दिएका छन्। खनालले पार्टी विभाजनको औचित्यमाथि प्रश्न उठाएपछि अध्यक्ष नेपाल आक्रोशित भएका हुन्।
इमेज टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा खनालले नेकपा (एमाले) विभाजन गर्नु गलत थियो भन्ने ठाउँमा पुगेको बताएका थिए। यद्यपि, उनी एमालेमा फर्कनका लागि केही सर्त राख्ने बताएका छन्।
शुक्रबार विराटनगरमा पत्रकारहरूले खनालको भनाइबारे प्रश्न गर्दा अध्यक्ष नेपालले खनाललाई नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए। उनले खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमानेको आरोप पनि लगाए।
यसैबीच, अध्यक्ष नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एक ठाउँमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको पनि बताएका छन्।
