झापा – झापामा नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता ‘झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ।
आयोजक झापा महिला गोल्डकपले आज पत्रकार सम्मेलन गरी प्रतियोगितासम्बम्बन्धी विस्तृत जानकारी गराएको हो।
गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले ‘नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता बनाउनका लागि यो आयोजना हुन लागेको’ बताउँदै यसले महिला फुटबलको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगिता आगामी कात्तिक १५ गतेदेखि २२ गतेसम्म शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा सञ्चालन गरिने तयारी गरिएको छ।
काठमाडौँबाहिर सबैभन्दा बढी फुटबल गतिविधि हुने जिल्लाका रूपमा परिचित झापालाई महिला फुटबलको ‘हब’ का रूपमा विकसित गराउन आयोजक टिम लागिपरेको जनाइएको छ।
यस प्रतियोगिताले महिला खेलाडीलाई प्रोत्साहन गर्दै झापामा महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने र ग्रासरुटबाटै निरन्तर प्रशिक्षणका लागि पहल गर्ने आयोजकको मुख्य उद्देश्य रहेको छ।
प्रतियोगिताको विजेता टिमले नेपालकै सर्वाधिक पुरस्कार राशी प्राप्त गर्नेछ। यसका साथै, ‘मस्ट भ्यालुएबल प्लेयर’, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्तालाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद र ट्रफी प्रदान गरिनेछ।
प्रतियोगितामा आयोजकको तर्फबाट एक टिम रहनेछ। नेपालका तीन विभागीय टिम—त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुङ्गो लागिसकेको छ। यसबाहेक, भारत र भुटानबाट एक/एक टिम तथा नेपालका ए डिभिजन क्लबहरूबाट दुई टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका लागि दुधे रंगशालाको निर्माण तथा स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको छ। पक्की प्यारापिट निर्माण, अस्थायी प्यारापिट निर्माण र खेलमैदानको स्तरोन्नति असोज महिनासम्म सक्नेगरी काम भइरहेको संरक्षकसमेत रहेका शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए।
प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ। प्रतियोगिताको संरक्षकमा नगरप्रमुख मेगाहाङ थोप्रासहित शिवसताक्षीका जनप्रतिनिधिहरू रहेका छन्।
प्रतियोगिता सञ्चालनका लागि झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङलाई सल्लाहकार संयोजक चयन गरिएको छ। त्यस्तै, खेल पत्रकार हिमाल खरेलको नेतृत्वमा सचिवालय निर्माण गरिएको छ।
