भैरहवा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाको आवरणमा हुने भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनाउन सफल भएको दाबी गरेको छ।
बुधवार भैरहवामा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका मुख्य सचेतक सन्तोष परियारले यस्तो बताएका हुन्।
परियारले भिजिट भिसाको आवरणमा नेपालमा लामो समयदेखि भ्रष्टाचार र मानव तस्करी भइरहेको बताए।
उनले रास्वपाले नै यसलाई नेपाली जनताको घरघरको मुद्दा बनाएको दाबी गरे। रास्वपाको निष्कर्ष छ कि राज्यले नीति र संरचना बनाएर पनि नागरिकलाई दुःख दिएको छ।
परियारले भने, “भिजिट भिसाको आवरणमा जुन किसिमको भ्रष्टाचार, मानव बेचबिखन र मानव तस्करी लामो समयदेखि नेपालमा भइरहेको थियो। त्यो मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उठाएर नेपाली जनताको घरघरको मुद्दा र राज्यले नीति बनाएर, संरचना बनाएर आफ्ना नागरिकलाई दिएको दुःखको मुद्दा हामीले संसदमा स्थापित गर्यौँ भन्ने हाम्रो ठम्याइ रह्यो।”
उनले भ्रष्टाचारका अन्य मुद्दाहरू पनि संसदभित्र आफूहरूले उठाइरहेको र अहिले पनि रास्वपा आन्दोलनकै क्रममा रहेको बताए।
