झापा- झापाको भद्रपुर नगरपालिका–४ स्थित नमुना बस्तीमा चारवटा जंगली हात्तीले घर तथा बालीमा ठूलो क्षति पुर्याएका छन्।
गएराति करिब १ बजे बस्तीमा पसेका हात्तीहरूले स्थानीयवासीको घर तोडफोड गर्नुका साथै अन्नबाली समेत नष्ट गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार टेकनाथ पराजुलीको टिनको छाना र सिमेन्ट ब्लकको घर भत्काउँदै करिब २० मन मकै खाइदिएका छन्, जसको अनुमानित क्षति करिब ३५ हजार रुपैयाँ बराबरको रहेको छ।
त्यस्तै, प्रेमलाल भण्डारीको घरको झ्याल फुटाएर एक बोरा चामल र रिता विकको घरको बरन्डा भत्काएर एक बोरा मकै हात्तीले नष्ट गरेका छन्। यी दुबै घरमा करिब ७ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
करेला चोकका जितबहादुर लिम्बुको कच्ची घरको भित्तासमेत भत्काइएको छ भने उनको बगैँचामा रहेका पाँचवटा सुपारी र दशवटा केराका बोटसमेत हात्तीले नष्ट गरेका छन्। उनको घरमा झण्डै १३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
हालसम्म मानवीय क्षति भने नभएको जनाइएको छ। स्थानीयवासीले रातभर त्रसित अवस्थामा बिताएका थिए। वन कार्यालय र प्रहरीलाई घटनाबारे जानकारी गराइएको छ भने हात्तीको निगरानीमा वनकर्मी परिचालित भएका छन्।
