अस्ट्रेलिया – गैरआवासीय नेपाली महासङ्घ (NRNA) अस्ट्रेलियाको कोषाध्यक्ष पदमा लुना सिवाकोटीले उम्मेदवारी घोषणा गरेकी छन्।
उनले आफ्नो उम्मेदवारीलाई ‘विश्वास माग्ने’ अभियानका रूपमा प्रस्तुत गर्दै NRNA संस्थालाई पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी नेतृत्वतर्फ डोर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
अनुभव र प्रतिबद्धता: सिवाकोटीले २०२३ देखि २०२५ सम्म न्यू साउथ वेल्सको NRNA सदस्य पदमा रहेर काम गर्ने मौका पाएको बताइन्। नेपालमा रहँदा झापा जिल्लामा अपाङ्गता क्षेत्रमा क्रियाशील लेखाजोखा केन्द्रको जिल्ला संयोजक भएर काम गरेको अनुभव पनि उनले सुनाइन्। “जहाँ मैले मानव सेवा र संस्थागत पारदर्शिताबीचको गहिरो सम्बन्ध बुझ्ने अवसर पाएँ,” उनले भनिन्।
उनका अनुसार, कोष भनेको केवल रकम मात्र नभई यो विश्वास हो, र कोषको सदुपयोग भनेको त्यो विश्वासको रक्षा गर्नु हो। “आज म कोषाध्यक्षको उम्मेदवार बनेर उभिएकी छु, किनकि म NRN कोषलाई कागजमा मात्र हैन — व्यवहारमा पारदर्शी बनाउन चाहन्छु,” सिवाकोटीले स्पष्ट पारेकी छन्।

भावी योजना र दृष्टिकोण: लुना सिवाकोटीले NRNA कोषलाई डिजिटल ट्र्याकिङ, नियमित प्रतिवेदन, र सदस्य-मैत्री बजेटिङ प्रणालीमार्फत अगाडि बढाउने योजना प्रस्तुत गरेकी छन्। उनले आफूसँग प्रशासनिक नेतृत्वको अनुभव, लेखाजोखा प्रणालीको सूक्ष्म ज्ञान र सबैलाई समेट्ने भावना रहेको दाबी गरिन्। “यस पदमा मेरो लागि सत्ता होइन सेवा नै सर्वोच्च मूल्य हो,” उनले जोड दिइन्।
उनले NRN संस्थालाई सबैको साझा पहिचान, एकता र उत्तरदायित्वको प्रतीकका रूपमा लिँदै यसलाई अझ सशक्त बनाउन हरेक पाइला र हरेक खर्च पारदर्शिता र निष्ठासँग अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।
सिवाकोटीले NRNA अस्ट्रेलियाको कोषाध्यक्ष पदमा निष्ठा, पारदर्शिता र समर्पण लिएर अगाडि बढ्नका लागि सबैको साथ, समर्थन र सुझावको अपेक्षा गरेकी छन्। “विश्वास गर्नुहोस्, तपाईंको मत केवल मलाई जिताउने हैन पारदर्शी भविष्य निर्माण गर्ने हात हो,” उनले आह्वान गरिन्।
