काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा नेकपा (माओवादी केन्द्र) मुख्य दोषी रहेको गम्भीर आरोप लगाएका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्था लथालिङ्ग हुनु र कम्युनिष्ट कार्यकर्ताहरू अपमानित हुने अवस्थामा पुग्नुमा माओवादी केन्द्रको त्रुटि रहेको दाबी गरे।
“नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टको दोष छ,” उनले भने, “कम्युनिष्ट शक्तिहरूमा माओवादीको सबैभन्दा ठूलो दोष छ। आजको राजनीति भ्रष्ट हुनु, लथालिङ्ग हुनुमा, नेता कार्यकर्ताहरूलाई अपमानित हुने ठाउँमा पुर्याउनुमा सबैभन्दा त्रुटि माओवादीको छ। हाम्रो हो नि। हाकी उम्किने ठाउँ छैन।”
महासचिव चन्दले जिम्मेवारीबाट र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरूलाई नरहेको पनि स्पष्ट पारे। उनले स्वेच्छाचारी रूपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने चेतावनी दिए।
